
काठमाडौं, २ पुस । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंं स्थानमा आएको छ ।
यसअघि सन् २०१८ मा नेपाल १४७औं स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ० दशमलव ६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ० दशमलव ५९६ थियो ।
तर राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ० दशमलव ५८७ मात्र देखाएको थियो ।
दक्षिण एसियाली मुलुकमा नेपाल छैटौँं स्थानमा छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औं स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औं, भुटान १२९औं, भारत १३१औं र बङ्गलादेश १३३औं स्थानमा छन् ।
नेपालपछि पाकिस्तान १५४औं र अफगानिस्तान १६९औं स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।
प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७० वर्ष ८ महिना पुगेको छ । विद्यालयमा बिताउने समय १२ वर्ष ८ महिना छ । बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।
१५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२ दशमलव ६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ ।
त्यस्तै सेवा क्षेत्रमा १९ दशमलव ९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।
कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी ३ हजार ४५७ डलर पुगेको देखाइएको छ ।















प्रतिक्रिया