
काठमाडौं, ३० मंसिर । विश्वव्यापी कोरोना भाइरसको कहरका कारण ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुला गरिने भएको छ ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् ।
प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश कोरोना भाइरसको सङ्क्रमणको त्रासका कारण बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन् ।
सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ ।
पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने छ ।
मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु नहने बताइएको छ ।















प्रतिक्रिया