
हेटौंडा, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राजावादीहरुलाई ‘स्पेस’ दिएको आरोप लगाएका छन् ।
हेटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट सरकारकै कारण देशमा राजावादीहरु सक्रिय भएको टिप्पणी गरेका हुन् ।
सरकारले गरेको जनविरोधी कामहरुले राजावादी शक्तिलाई सडकमा आएर ‘राजा आऊ, देश बचाऊ’ भनेर कराउने हिम्मत आएको देउवाको भनाइ छ । देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार बने पनि कुनै पनि हालतमा राजा नफर्किनै दाबी पनि उनले गरेका छन् ।
गणतन्त्रलाई ठिक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले भनेका छन्, ‘हामी यो व्यवस्था बिग्रिन दिँदैनौं । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’ यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै नभएको पनि उनले बताएका छन् ।
‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्नन् । त्यसैले राजा आउने भ्रम नराख्नू’, देउवाले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए ।















प्रतिक्रिया