
काठमाडौं, २९ मंसिर । राष्ट्रिय जनमोर्चा पार्टीले चिनी मिलले उखु किसानलाई वर्षौसम्म भुक्तानी नगरेर किसानमाथि ब्रम्हलुट र घोर अपराध गरेको बताएको छ ।
सोमबार एक प्रेस वक्तव्य जारी गर्दै सो पार्टीले भुक्तानी गर्ने सम्झौता गरेको वर्ष दिन वितिसक्दा पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा भएको पनि बताएको छ ।
उखुको भुक्तानी नदिएर संघर्षका लागि पुनः बाध्य पारिनु किसानमाथि गरिएको अपराध भएको समेत बताएको छ । ‘गत वर्ष पुसमा रकम भुक्तानीको माग गर्दै किसानले काठमााडौंमा आई संघर्ष गरेका थिए । उद्योग मन्त्रालयको समन्वयमा चिनी मिल र उखु किसानबीच तत्काल भुक्तानी गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्षसम्म पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा हो’, जनमोर्चाले आफ्नो वक्तव्यमा लेखिएको छ, ‘उखुको भुक्तानी नदिएर संघर्षका लागि बाध्य पारिनु किसानमाथि गरिएको घोर अपराध हो ।’
चिनी मिलहरुले सरकारको संरक्षणमा किसानको भुक्तानी नदिएको आरोप लगाउँदै जनमोर्चाले भनेको छ, ‘विक्री गरेको उखुको मूल्य भुक्तानी नगरिनु चिनी मिलको किसानमाथिको लुट, दादागिरी र चरम शोषण हो । चिनी मिलहरुले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेका छन् ।’
किसानको रकम भुक्तानी नगर्ने चिनी मिलमाथि कारवाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, विक्री गरिएको रकम तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न जनमोर्चाले जोडदार माग समेत गरेको छ ।
विभिन्न चिनी मिलले उखु किसानलाई करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु किसान संघर्ष समितिले बताएको छ । उखु किसानले चिनी मिलबाट बाँकी रकम भुक्तानीको माग गर्दै तराइबाट काठमाडौंमा आएर संघर्ष गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चाले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।















प्रतिक्रिया