
सिमकोट, २९ मंसिर । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ ।
हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
कर्णाली कोरिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न शुरु गरेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा समाहित भएको हो ।
नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारी साधन सञ्चालनमा आउने गरेका छन् ।
यो सडक विभागलाई हस्तान्तरण भएपश्चात् निर्वाधरूपमा सवारी साधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने छ ।















प्रतिक्रिया