
काठमाडौं, २९ मंसिर । विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ ।
आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
मुद्दा दर्ता भएको १० महिनापछि बस्न्यात बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । उनले आफ्नो तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लागयतका कानून व्यवासयीहरुलाई लगाएका थिए ।
विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको जानकारी दिए ।
तत्काल प्राप्त प्रमाणबाट बस्न्यात आरोपित पुष्टि हुने देखिएकाले थुनामा पठाउने आदेश भएको बताइएको छ ।
तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्व प्रमुख आयुक्त बस्न्यातलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले बस्न्यातसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत छन् ।















प्रतिक्रिया