लण्डन, २९ मंसिर । युरोपेली संघ र ब्रिटेनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्ने विषयमा सहमति भएको छ ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको बीबीसीले जनाएको छ ।
दुवै जना बीच सुल्झिन बाँकी केही मुद्दामा पनि कुराकानी भएको छ । यो साताको सुरुमा जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर आइतवारसम्मको समय तय गरेका थिए ।
यद्यपि ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए ।
दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै उनीहरूले ब्रसल्समा रहेका वार्ताकारलाई ढिलै भए पनि सहमतिमा पुग्न सकिन्छ कि हेर्न भनेका छन् ।
ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ ।
३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ ।
यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे ब्रिटेनसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो ।
ती योजनाहरूमा युके र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् ।
युकेले यो वर्षको ज्यानुअरीमै युरोपेली संघ छोडेको थियो तर सम्झौतामा सहमत हुनका लागि वार्ता गर्ने प्रयास स्वरुप दुई पक्षलाई ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो ।
आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आएकी छन् ।
यदि सम्झौता हुन नसकेको खण्डमा महत्त्वपूर्ण सेवाहरूमा असर नपरोस् भनेर चारवटा आकस्मिक उपायहरू प्रस्ताव गरिएका थिए ।















प्रतिक्रिया