१० कार्तिक २०८३, मंगलबार

स्वास्थ्य प्रोटोकलको पालना गरेर हिउँदे अधिवेशन सुरु हुन्छ: अध्यक्ष तिमिल्सिना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणको जोखिमका बीच स्वास्थ्य प्रोटोकलको पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार आयोजित १४ औँ संघीय संसद सेवा दिवस २०७७ को मूल समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद अधिवेशन छिट्टै आह्वान हुने बताएका हो ।

सो अवसरमा उनले कोरोना भाइरसको संक्रमण बढिरहे पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद बैठक सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

उनले वर्खे अधिवेशनमा थुप्रै अनिश्चिता र चुनौतीका बीच सफलतापूर्वक सभा सञ्चालन गरेको अनुभव रहेकाले संसद चलाउन सहज हुने धारणा राखे ।

‘कोरोनाका कारण कानुन निर्माणका काम हुँदाहुँदै पनि संसदको वर्खे अधिवेशन छिटो अन्त्य गर्नुपर्यो,’ उनले भने, ’हिउँदे अधिवेशन १८ पुसअघि सुरू गरिसक्नुपर्ने छ । त्यसैले पूर्ण सजकताका साथ संसद बैठक सञ्चालन हुन्छ ।’

कोरोनाका कारण लामो समयको लकडाउन र त्यसले निम्त्याएको जोखिमले गर्दा कानुन निर्माणसमेत प्रभाव हुन पुगेको अध्यक्ष तिमिल्सिनाले बताए ।

‘कोरोनाका कारण संसारभर जस्तै नेपालमा पनि जनजीवन र देश विकासमा ठूलो असर परिरहेको छ,’ उनले भने, ’नयाँ संविधान निर्माणपछि बनेको पहिलो संसदको कानुन निर्माणमा समेत यसले असर पारिरहेको छ।अब सचेत हुँदै हाम्रा कामहरूलाई गति दिनुपर्छ ।’

कोरोनाको सुरूवाती चरणमा संसद बैठक मात्रै नभई संसदीय समितिका बैठकसमेत रोक्नुपरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले अब सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अगाडि बढ्नुपर्ने बताए ।

कोरोना न्यूनिकरण र नियन्त्रणमा सरकारसँगै सबै तहका जनप्रतिनिधि र जनताले आआफ्नो दायित्व पुरा गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको धारणा छ ।

सो अवसरमा उनले संसद सेवामा कार्यरत कर्मचारीलाई यस सेवाप्रति गर्व गर्नसक्ने गरी काममा खट्न आग्रह गरे । ‘संसदमा सांसदसँगै यहाँ कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायत हामी सबै एउटै परिवार हौँ,’ उनले भने, ’ हाम्रो आउने बाटो र भूमिका फरक भएपनि उद्देश्य संविधानअनुसार कानुन निर्माण गर्दै जनताको सेवा गर्नु हो। त्यसैले जस्तो चुनौतीमा पनि हामी सेवामा तत्पर रहनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले सेवामा लागिरहँदा आउने समस्याको समाधान गर्दै जानुपर्ने बताउँदै थप रचनात्मक, सृजनात्मक र कर्तव्यनिष्ठ भएर काम गर्न सबै कर्मचारीलाई आग्रह गरे ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद सेवा दिवसको अवसरमा उत्कृष्ट ठहरिने कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा संसदले प्रत्येक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट सेवा पुरस्कार उपसचिव कमला शाक्य, उत्कृष्ट सेवा पुरस्कार कम्प्युटर अधिकृत जगदिश शर्मा र संसद सेवा पुरस्कारबाट माली बालकृष्ण न्यौपाने र सवारी चालक कृष्ण रानामगर सम्मानित भएका थिए । साथै, ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दिर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।