
काठमाडौं, २८ मंसिर । विश्वव्यापी कोरोना भाइरसका विरुद्ध हालसम्म कुनै पनि खोप तथा औषधिहरु प्रभावकारी रुपमा प्रयोगमा आउन सकेको छैन ।
केही दिनयता प्रयोगमा आएका भनिएका खोप नेपालमा आउने कुरा धेरै पछिको हो । तर, खोप वा कुनै पनि औषधिविनै नेपालका ९४ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुनेको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ । त्यसमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमित निको भइसकेका छन् ।
निको हुनेको उक्त दर ९४ दशमलव ९ प्रतिशत भएको मन्त्रालयले बताएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५०० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ३१ हजार ४१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १० हजार ९९४ जना आइसोलेसन र ५१६ जना क्वारेन्टिनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ जना पुगेको छ ।















प्रतिक्रिया