
काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाउँदै छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा मात्रै विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउने तयारी भएको बताइएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगरपालिकाले महानगर दिवस मनाउँदै आएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएका हुन् ।
महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले जानकारी दिएका छन् । यस्तै महानगरभित्रका एक उत्कृष्ट वडालाई सम्मान गर्ने तथा महानगर भित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियानअन्तर्गत सडकभर बत्ति बाल्ने योजना अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिएका छन् ।
महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूहहरु, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।















प्रतिक्रिया