
काठमाडौं, २७ मंसिर । हरेक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि सुरु हुँदै छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाला चतुर्दशीमा लाखौं भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापाले बताउनुभयो । हरेक वर्ष बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ ।















प्रतिक्रिया