
काठमाडौँ, २५ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमान सिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
लामाको कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान भएको निधनको खबरले आफूलाई दुखित् तुल्याएको अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२००८ साल फागुन ९ गते जन्मेका लामा २०३३ सालमा निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए ।
त्यस्तै, विज्ञप्तिमा लामा २०३५ सालमा प्रचण्डकै नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहेको उल्लेख छ । २०६३ सालमा पुनस्थापित संसद सदस्य रहेका उनी दक्षिण कोरियाका राजदूत पनि भएका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कमरेड लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको विज्ञप्तिमा जनाइएको छ ।
जुझारु बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उनको अभावको महशुस गरेको प्रचण्डले विज्ञप्तिमार्फत जनाएका छन् । लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु रहेका छन् ।
अध्यक्ष प्रचण्डले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।















प्रतिक्रिया