
काठमाडौं, २३ मंसिर । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ मुल नाराका साथ विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनावारी’बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन दिनसम्म ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो ।
यो कार्यशाला गोष्ठी विश्वमै पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो । गत जेठमा हुने भनिएको कार्यशाला कोभिड–१९ महामारीका कारण सरेको थियो ।
१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको १४औं दिनको अवसर पारेर कार्यशाला आयोजना गरिएको दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जालले बताएको छ ।
महिनावारीका सम्बन्धमा भए/गरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तीका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । भर्चुल र प्रत्यक्ष रुपमा गरिने गोष्ठीमा सबै महादेशका अनुसन्धानकर्मी अभियानकर्मी, सरकारका प्रतिनिधि, नीति निर्माताहरुको सहभागिता रहने छ ।
भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकारदेखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयनसम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री पनि प्रदर्शन हुने छ ।















प्रतिक्रिया