१ कार्तिक २०८३, आइतबार

उद्योगलाई कच्चा पदार्थ अभाव, बजार मूल्यमा असर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको छ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय अमेरिकी डलर पुगेको जानकारी दिए। पहिले चीनबाट एक कन्टेनर सामान कोलकाता बन्दरगाहसम्म आयात गर्दा १ लाख रुपैयाँ लाग्थ्यो। अहिले साढे ३ लाख रुपैयाँ तिर्दा पनि आयात गर्न सम्भव नभएको उद्योगपति राठीले बताए। ‘कन्टेनर ढुवानी खर्च वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धताले लागत खर्च तीन गुणाभन्दा बढीले बढेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर उत्पादन लागतदेखि उपभोक्ता मूल्यसम्म पर्ने नै भयो।’ राठीले प्लास्टिकका सामग्री बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्दै आएका थिए।

कोभिड–१९ को चर्को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले अक्टोबरदेखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको हो। नेपालको औद्योगिक क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र तयारी सामान भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ। भारतबाहेक अन्य मुलुकबाट यस्ता सामग्री सामुद्रिक मार्गबाट भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहमा ल्याइन्छ। त्यहाँबाट रेल र सडक मार्गमार्फत नेपालको वीरगन्ज, विराटनगर, भैरहवालगायत स्थानमा उपलब्ध गराइन्छ।

एस टर्मिनल एन्ड लजिस्टिक कम्पनीका सञ्चालक अशोक पेमानीका अनुसार नेपालमा आयात हुने वस्तुको कुल आयात मूल्यमध्ये ६५ प्रतिशतबराबरको भारतबाट भित्रिने गर्छ।

बाँकी ३५ मध्ये २० प्रतिशत चीन र १५ प्रतिशत अन्य मुलुकबाट आयात हुन्छ। यसरी ३५ प्रतिशत वस्तुको आयात सामुद्रिक मार्गबाट भारतका कोलकाता र विशाखापट्टनम हुँदै नेपालसम्म हुन्छ। महासंघको पारवहन समितिका सभापतिसमेत रहेका पेमानीले सिपिङ कम्पनीको पछिल्लो नीतिका कारण उद्योगको लागत खर्च झन्डै दुई गुणाले वृद्धि भएको बताए।

मोरङ व्यापार संघका उपाध्यक्ष अनुपम राठीका अनुसार सामुद्रिक मार्गको प्रत्येक गन्तव्यमा अहिले सिपिङ कम्पनीले कन्टेनर भाडा दरमा प्रतिटन १ सय ३० देखि १ सय ६० डलरसम्म वृद्धि गरेका छन्। अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कोलकातासम्मको भाडादर प्रतिटन ६५ बाट १ सय २० डलर पुगेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा राजेश बर्माले समाचार लेखेका छन् ।