
काठमाडौँ, २२ मंसिर । राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा सरकारको तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लोगो प्रयोग हुनुको कारणबारे आयोगले स्पष्ट पारेको छ ।
शिक्षा आयोगको प्रतिवेदन आइतबार राजधानीमा आयोगका १३ जना सदस्यहरुले जनस्तरमा सार्वजनिक गरेका थिए ।
हिजै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारको निशाना छाप तथा मन्त्रालयको लागो प्रयोग गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको जनाएको थियो ।
आज प्रतिवेदन सार्वजनिक गर्ने १३ जनाले एक साझा विज्ञप्ति जारी गर्दै श्यामकुमार श्रेष्ठ र विद्यानाथ कोइरालाले सरकारले आपत्ति जनाएको ‘सरकारी लोगोको प्रयोग’ भएकोबारे स्पष्ट बनाएका छन् ।
सोमबार जारी गरिएको विज्ञप्तिमा शिक्षा आयोगको सचिवालयको प्राविधिक त्रुटीको कारण प्रतिवेदनमा सरकारी लोगो र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको नाम’ पर्न गएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सचिवालयको त्रुटीका लागि गैरसरकारी संस्थाहरुलाई कारवाही गर्नु उचि नभएको जनाएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठः
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७७ । ८। २१ को पे्रस विज्ञप्तिले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालसँग सम्वन्ध बिच्छेद गर्ने र यसलाई दण्डित गर्नका लागि गृह मन्त्रालयमा लेखी पठाउने जानकारीबाट हामी स्तब्ध र दुखित भएका छौँ । मन्त्रालयले त्यसो गर्नुमा राष्ट्रिय शिक्षा आयोग, २०७५को प्रतिवेदन छाप्दा अनधिकृत रुपमा नेपाल सरकारको लोगो तथा छाप प्रयोग गरिएको भनिएको छ । वस्तुगत यथार्थ के हो भने उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग नेपाल सरकारको मन्त्री परिषदको बैठकको २०७५ साल असार ३२ गतेको निर्णयबाट गठित एउटा स्वतन्त्र स्वायत्त शिक्षा आयोग हो । यसका अध्यक्ष बहालवाला शिक्षामन्त्री रहे पनि यो आयोेग शिक्षा मन्त्रालयको एउटा अंग थिएन । तसर्थ शिक्षा आयोगको प्रतिवेदनमा सरकारी लोगो र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको नाम राख्नु कदापि उचित थिएन । यो शिक्षा आयोगको सचिवालय स्वयंबाट त्यतिबेलै हुन गएको प्राविधिक त्रुटि थियो । त्यतिखेर भएको त्यो त्रुटिका कारण अब जसले रिपोर्ट छापे पनि त्यो लोगो र शिक्षा मन्त्रालयको नाम अनावश्यक रुपमा पर्न जाने खण्ड आएको छ । यो स्थिति सच्याउन आवश्यक छ तर आयोग सचिवालयले गरेको त्यो भूलको दण्ड शिक्षाका लागि राष्ट्रिय राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई दिनु सरासर अन्याय र गल्ती हुनेछ । भूलको दण्ड नै दिने भए सर्बप्रथम यसको मुख्य स्रोतमै भूल गर्नेलाई नै दिइनुपर्ने हुन्छ । त्यहीँ पहिले भूल सच्याउनु पर्ने हुन्छ । रिपोर्टको अभिन्न अंगको रुपमा त्यसको कभरमा सरकारी लोगो र शिक्षा मन्त्रालयको नाम अविलम्व हटाएर उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको नाम राख्नु पर्ने हुन्छ ।
फेरि शिक्षाका लागि राष्ट्रिय सञ्जाललाई प्रतिवेदन छाप्न अनुरोध गर्ने सोही शिक्षा आयोगका हामी पूर्व सदस्यहरु हौं । छापिएको प्रतिवेदको भित्री पेजको सार्वजनिकीकरण विज्ञप्तिले सो कुराको जानकारी दिन्छ । एक बर्ष नौ महीना भन्दा ज्यादा लामो समय व्यतित हुँदा पनि सरकारले सार्वजनिक नगरेको सो प्रतिवेदनउपर संविधानप्रदत्त सूचनाको हकअन्तर्गत सार्वजनिक बहस होओस् भन्ने विशुद्ध उद्धेश्यले हामीले सो अनुरोध गरेका थियौैं । लोगो र शिक्षा मन्त्रालयकोे नाम सरकारले हामीलाई दिएको प्रतिवेदनको पिडिएफमै अंकित छ । यसो हुँदाहुँदै पनि सरकारी लोगो र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको नाम राखेर प्रतिवेदन छाप्दा यदि असहज परिस्थिति उत्पन्न हुन गएको भए त्यसमा हामी क्षमा प्रार्थी छौँ । प्रतिवेदन नाफा कमाउन छापिएको पनि हैन । त्यसमाथि पनि हाम्रै अनुरोधमा छापिएको सो प्रतिवेदनमा यदि अनाधिकार प्रयास भयो भन्ने दोष लाग्ने हो भने त्यसका लागि पहिले हामी जिम्मेवार छौैं । यो कुरालाई मनन गरी सरकारको उक्त विज्ञप्तिले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा ग्लोवल एक्सन नेपाललाई लगाएको दोषारोपण, सम्वन्ध विच्छेदको निर्णय र दण्डका लागि गृह मन्त्रालयमा गरिएको सिफारीश अविलम्व फिर्ता गर्न गराउन शिक्षा मन्त्रीज्यू तथा मन्त्रालयका सम्वन्धित पदाधिकारीलाई हार्दिक अनुरोध गर्दछौं । गृह मन्त्रालयलाई पनि यस सम्बन्धी कुनै कदम नचाल्नु हुन आग्रह गर्दछौँ ।
आयोगका १३ जना पूर्व सदस्यहरूको तर्फबाट
श्याम कुमार श्रेष्ठ
विद्यानाथ कोइराला
मार्ग २२, २०७७















प्रतिक्रिया