
ललितपुर, २२ मंसिर । महानगरीय प्रहरी परिसर ललितपुरले अवैध रक्तचन्दन र पुरातात्विक मुद्रासहित ६ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१७ बाफलबाट ३ केजी ६३ ग्राम अवैध वन पैदावर रक्तचन्दन जस्तो देखिने २ थान काठको टुक्रा र पुरातात्विक–प्राचीन जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो नेपाली मुद्रासहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको हरिहर गडी गाउँपालिका–८ ढाँडखोलाका २८ वर्षीय राजकुमार भन्ने हरिबहादुर मोक्तान, सिन्धुलीकै पीपलमाडे गाउँपालिका–३ खुर्सानीबारीका ५० वर्षीय टिकराम तामाङ, नुवाकोटको लिखु गाउँपालिका–२ थाङसिङका ३१ वर्षीय प्रेमकुमार डंगोल, झापा मेचीनगर नगरपालिका–५ धुलाबारीका २४ वर्षीय सोभित आचार्य, धादिङ निलकण्ठ नगरपालिका–१० का २१ वर्षीय शंकर ढाउन्याँ र धादिङकै गजुरीका २७ वर्षीय सुमन बस्नेत छन् ।
ललितपुर महानगरपालिका–१७ बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सामग्री सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
पक्राउमध्ये टिकाराम तामाङ, प्रेमबहादुर डंगोल, हरिबहादुर मोक्तान र सोभित आचार्यलाई वन ऐन अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको तथा शंकर ढाउन्याँ र सुमन बस्नेतलाई प्राचीन स्मारक ऐन बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।















प्रतिक्रिया