२ कार्तिक २०८३, सोमबार

युरोपेली युनियनले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । युरोपेली युनियन (ईयू)ले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया शुरु गरेको छ ।

हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले प्रतिबन्ध हटाउने प्रक्रिया शुरु गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानून र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया शुरु भएको जनाएको हो ।

यसको लागि नेपालले तीन चरण पार गर्नुपर्ने छ । पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटीको बैठक हुने छ । दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्ने छन् ।

ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे–नगरेको हेर्ने छन् । नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस हुने छ ।

नेपालले हवाई सुरक्षामा लापर्बाही गरेको भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।