
काठमाडौँ, २१ मंसिर । संघीय संसद सचिवालयले संघीय सदनको बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ ।
सरकारले पुस १४ अघि नै बैठक आह्वान गरिसक्नुपर्ने व्यवस्थाअनुसार संसद सचिवालयले तयारी थालेको हो ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर बैठक सामाजिक दुरी कायम राख्दै बोलाउने तयारी भएको सचिवालयले जनाएको छ ।
स्वास्थ्य सुरक्षा अपनाउँदै बैठक सञ्चालन हुने भएकाले आवश्यक व्यवस्थापकीय काम सुरु भएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार बैठक सञ्चालनका लागि तयारी थालिएको हो ।
बैठक आह्वानका लागि सरोकारवालाहरुसँग छलफल जारी रहेको बताइएको छ ।
यस पटकको संसद बैठकमा संसदहरुलाई बाल्कोनी अथवा दर्शकदीर्घमा पनि राखिने व्यवस्था गर्न लागिएको सचिवालयले जनाएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने कारण यसो गर्न लागिएको बताइएको छ ।
सभा व्यवस्थित ढंगले सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखले त्यही किसिमले निरन्तर रुपमा निर्देशन पनि दिइरहेको जनाइएको छ ।
त्यस्तै, हिँउदे अधिवेशनमा संसदहरुको पीसीआर परीक्षण गर्ने नगर्ने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।
त्यस्तै, कोरोना संक्रमण हुन नदिन पहिलेको भन्दा धेरै दुरी कायम गरेर संसदहरुलाई बस्ने व्यवस्था गर्नेबारे छलफल भइरहेको बुझिएको छ ।
संसदको एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्ययस्था अनुसार आँउदो पुसको दोश्रो साताभित्र संसदको हिउँदे अधिवेशन सुरु गरिसक्नुपर्नेछ ।















प्रतिक्रिया