१ कार्तिक २०८३, आइतबार

कोभिडले कृषिमा १२ अर्ब क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ मंसिर । कोभिड–१९ का कारण कृषि तथा पशुपालनमा करिब १२ अर्ब रूपैयाँ क्षति पुगेको एक सरकारी अध्ययनले देखाएको छ। तुलनात्मक रूपमा कृषि क्षेत्रमा कम प्रभाव परेको आँकलन गरिए पनि राष्ट्रिय योजना आयोगले गरेको अध्ययनमा कोभिडका कारण कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर असर पुगेको भेटिएको हो।

योजना आयोगले कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे विज्ञसहितको टोली बनाएर अध्ययन गरेको थियो। कोभिडका कारण पशुपक्षी, दूध, दाना, अण्डा, मासु, दाना, पुष्प व्यवसायमा क्षति पुगेको आयोगले जनाएको छ। किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन। अण्डा पनि नष्ट गरिएको थियो। फूल ओइलाएका थिए।

आयोगले गरेको अध्ययन प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। ‘अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रमा कम प्रभाव परेको अनुमान थियो,’ अध्ययनमा संलग्न एक सदस्यले भने, ‘तर कृषि क्षेत्रमा पनि गम्भीर असर पुगेको देखियो।’ अध्ययन टोलीले गत आर्थिक वर्षलाई आधार बनाएर अध्ययन गरेको थियो।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ। कोभिड जेठमा समाप्त भएको भए आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर २.२८ प्रतिशत हुन सक्ने तथ्यांक विभागको अनुमान थियो।

कोभिडको असर लम्बिएपछि आर्थिक वृद्धिदर त्योभन्दा तल खुम्चिएको छ। कृषिमा समेत असर पुगेकाले आर्थिक वृद्धिमा थप असर पुग्ने देखिएको छ। विश्व बैंकले मुलुकको आर्थिक वृद्धिदर सन् २०२० मा ०.२ प्रतिशतमा खुम्चिने र २०२१ मा ०.६ आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

कोभिड प्रभावबीच ल्याइएको बजेटमा सरकारले चालु आर्थिक वर्षमै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि त्यो असम्भव देखिएको विज्ञहरूले बताउँदै आएका छन्। दिलीप पाैडेलले नागरिक दैनिकमा समाचार लेखेका छन् ।