मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बारमा कडा प्रतिस्पर्धाको संकेत

दैनिक नेपाल २०७७ मंसिर २१ गते ७:३७

काठमाडौं, २१ मंसिर । सर्वोच्च अदालत बार एसोसिएसनको आगामी पुस ४ गते हुने निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन र प्रगतिशील कानुन व्यवसायी पक्षधरबाट उठ्ने आकांक्षीको संख्याले प्रतिस्पर्धा कडा हुने संकेत गरेको छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बाट अध्यक्ष पदको उम्मेदवारमा वरिष्ठ अधिवक्ताहरु तीर्थराज बसौला र पूर्णमान शाक्य तथा अधिवक्ताहरु विष्णु लुइँटेल, डा. नारायणप्रसाद घिमिरेलगायतको दाबी रहेको बताइएको छ ।

यसै गरी, प्रगतिशील कानुन व्यवसायी (पीपीएलए) पक्षधरबाट अध्यक्ष पदको उम्मेदवारमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल, शिव रिजाललगायतको दाबी रहेको बताइएको छ ।

कसलाई उम्मेदवारी चयन गर्ने भन्ने सम्बन्धमा डीएलए र पीपीएलएले उम्मेदवारी छनोट समिति गठन गरेका छन् । ती समितिहरुले कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिरहेका छन् ।

डीएलएबाट सचिव पदमा आकांक्षीहरुमा अधिवक्ताहरु ऋषिराम घिमिरे, विनोद कार्की, प्रभुकृष्ण कोइराला, नमराज रिजाललगायतको दाबी रहेको छ । एनएलएबाट सचिव पदको आकांक्षीमा मुकुन्द पौडेल, श्याम खत्री, अञ्जिता खनाल र अम्मर राउत रहनुभएको छ ।

निर्वाचन समितिका सदस्य मुरारी सापकोटाले सर्वोच्च बारको निर्वाचनमा ६ सय ५ जना मतादाता रहेको जानकारी दिनुभयो । मतदान आउँदो पुस ४ गते दिनको ८ देखि ३ बजेसम्म हुने बताइएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित