शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा सचिवालय बैठक आज फेरि बस्दै, निचोड निस्किने सम्भावना कति छ ?

दैनिक नेपाल २०७७ मंसिर २० गते ९:२२

काठमाडौं, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पुनः बस्दैछ ।

दुई पार्टी अध्यक्षबीचको मतभेद कायमै रहेको बेला तीन दिनदेखि स्थगन हुँदै आएको सचिवालय बैठक आज बस्न लागेको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका दुई अध्यक्षबीच मतभेद कायमै रहको छ ।

बैठकबाट वा दुई अध्यक्षबीचको संवादबाट निकास निकालिनु पर्ने भन्नेमा ओली र प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद कायमै रहँदा सहमति हुन सकेको छैन ।

ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिएका छन् भने प्रचण्ड–नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।

पछिल्लो पटक मंसिर १७ गते बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच औपचारिक संवाद नभएपछि प्रधानमन्त्रीनिकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने सन्देश दिँदै सहमतिका लागि संवादमा बस्न आग्रह गरेका छन् ।

तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै शनिबार डाकिएको सचिवालय बैठक नरोकिने जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओली समूहले समेत केही समय बैठक स्थगन गरेर छलफल गर्न सुझाव दिएको भए पनि अध्यक्ष प्रचण्डले शनिबार डाकिएको सचिवालय बैठक स्थगित नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित