शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहका विद्यालय पुनः बन्द

दैनिक नेपाल २०७७ मंसिर २० गते ८:२८

हुम्ला, २० मंसिर । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् ।

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् ।

कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा  लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् ।

दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए ।

उनले भने, ‘दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् ।’

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ ।

लकडाउन गरेकाले गाउँपालिकाभित्रका विद्यालय बन्द भएका प्र्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताए ।

जिल्लाका अन्य आठ वटा  स्थानीय तहहरूमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार  विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए ।

उनले भने, ‘जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ ।’

बैतडीमा हालसम्म ५७० मा सङ्क्रमण देखिएको छ ।  सङ्क्रमितमध्ये ६५ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित