२ कार्तिक २०८३, सोमबार

हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ७ जना घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला २० मंसिर । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित ७ जना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ छन् ।

दुर्घटनामा परी एक वर्षको बच्चासहित ७ जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट–२ ठेहेका जीप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।