शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘हरितारा चलचित्र पुरस्कार’ मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई

दैनिक नेपाल २०७७ मंसिर १९ गते १९:१०

काठमाडौं, १९ मंसिर । यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ चलचित्रकर्मीं तथा अभिनेता कृष्ण मल्ल र चलचित्रकर्मी एवं नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

‘हरितार चलचित्र पुरस्कार’का संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार मल्ल र श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो । सोही बैठकले २०७६ सालको उक्त पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

२०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपूर्ण योगदान गरेका अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदास श्रेष्ठलाई अर्पण गर्न लागिएको हो ।

यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृति एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पुर्याएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो ।

पुरस्कारको थैली जनही २५/२५ हजारको छ ।

यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही १०÷१० हजारको छ ।

सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी/गीतकार शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।

यसअघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई प्रदान गरिसकिएको बताइएको छ ।

घोषित पुरस्कार आगामी पुस दोस्रो साता वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित