बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आन्दोलनरत कर्मचारी र वीर अस्पतालबीच जुट्यो पाँच बुँदे सहमति

दैनिक नेपाल २०७७ मंसिर १९ गते १७:५१

काठमाडौं, १९ मंसिर । वीर अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच शुक्रबार सहमति भएको छ ।

आन्दोलन शुरू भएको ४६औं दिनमा कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच ५ बुँदे सहमति जुटेको हो । यद्यपि, उक्त सहमति कार्यान्वयन गर्न भने ६ हप्ता लाग्ने अस्पतालले बताएको छ ।

प्रशासनसँगको सहमतिसँगै विरोधका सबै कार्यक्रम स्थगित गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र आदोलनरत कर्मचारीबीच कोभिड भत्ताको समस्या समाधान गर्ने, सर्वोच्च अदालतको फैसाला बमोजिम राष्ट्रिय ट्रमा सेन्टरलाई वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयन गर्नेलगायत समहति भएको छ ।

यस्तो छ सम्झौता

१. मागमा सम्बन्धमा कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानूपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने । कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने । कर्मचारीहरूले पाउने आ.व ०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने । सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने ।

२. अस्पतालका पूर्ववत् सेवाहरूसहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने ।

३. प्रतिष्ठानमा सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने  ।

४.  सम्मानित सर्वोच्च अदालतको फैसाला बमोजिमः क) चि.वि.रा.प, राष्ट्रिय ट्रमा सेन्टरलाई चि.वि.रा.प्र वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने । ख) प्रतिष्ठानमा कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि. र.प्र  (कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने ।

५. उपरोक्त बुँदाहरूमा उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितिबाट बन्द ताला खोली ६ हप्तासम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने ।

प्रतिक्रिया
सम्बन्धित