मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्री वा अध्यक्षमध्ये एक जिम्मेवारी रोज्नुपर्ने अडान

दैनिक नेपाल २०७७ मंसिर १९ गते ७:०८

काठमाडौं, १९ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको छ । जारी सचिवालय बैठकमा नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आउन अस्वीकार गरेसँगै संकट झन् गहिरिएको हो ।

लिखितसँगै मौखिकरूपमा समेत वाकयुद्धमा उत्रिएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्धमा चिसोपन आएसँगै पार्टीको विवाद भने तातिएको छ । सचिवालय बैठकमा दुवै अध्यक्षको प्रस्ताव पेस भए पनि अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन बैठकबाट फिर्ता लिनुपर्ने अडान कायमै राख्नुभएको छ ।

बुधबारको बैठकमा अध्यक्ष ओली सहभागी नभएपछि मंसिर २० का लागि सचिवालय बैठक बोलाइएको छ । तर, शीर्ष तहमा अनौपचारिक छलफल अझै हुन सकेको छैन । अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावमा वैचारिक र सैद्धान्तिक भन्दा पनि एक–अर्कामा आरोप–प्रत्यारोप र दोषारोपणमा केन्द्रित भएको छ ।

दुवै अध्यक्षले आ–आफ्नो प्रस्तावलाई प्रतिष्ठाको विषय बनाउँदा विवाद बढेको हो । बहुमत सचिवालय सदस्यले प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेसँगै अध्यक्ष ओली अल्मतमा पर्नुभएको छ ।

पार्टीको बैठकलाई नै चुनौती दिने गरी अध्यक्ष ओलीले चेतावनी दिए सँगै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीसँग रुष्ट बनेका छन् ।

बहुमत सचिवालय सदस्यले ओलीले अटेर गरिरहे आगामी बैठकबाट एउटा निर्णय गरेर अगाडि बढनुपर्ने दबाब अध्यक्ष प्रचण्डलाई दिइरहेका छन् ।

सचिवालयका एक सदस्यले भने– ‘पार्टीभित्र देखिएको अन्योलता धेरै दिन राख्नुहुँदैन, सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी एउटा निर्णय गरेर अगाडि बढनुपर्छ । बैठकमा नै बस्दिनँ भन्न पाइन्छ र ?’ सचिवालय बैठकमा अध्यक्ष ओली भने रक्षात्मक अवस्थामा रहेका छन् ।

यसअघि पार्टीभित्र विवाद देखा पर्दा निर्णायक भूमिकामा देखा पर्दै आउनुभएका उपाध्यक्ष गौतम यसपटक भने प्रचण्ड–नेपाल पक्षमा दृढ भएर उभिनुभएको छ । मधुसूदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित