बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यो वर्षको ‘रमेश विकल स्मिृति पुरस्कार’ पाउने को–को ?

दैनिक नेपाल २०७७ मंसिर १८ गते १७:३९

काठमाडौं, १८ मंसिर । नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरूको नाम घोषणा गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरूको नाम सार्वजनिक गरेको हो । प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङ्मय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ ।

प्रतिष्ठानका अनुसार विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ३० हजार रूपैयाँ रहेको छ ।

यसैगरी २० हजार रूपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिने भएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिने भएको छ ।

यसैगरी यस वर्षको रमेश विकल बाल साहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिन लागिएको छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ ।

यी सबै पुरस्कारको राशी १० हजार रूपैयाँ रहेको छ । यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम सिफारिस गरिएको हो । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन् ।

प्रतिक्रिया
सम्बन्धित