
काठमाडौं, १८ मंसिर । राष्ट्रिय जनमोर्चाले हाल देशका विभिन्न ठाउँमा विभिन्न व्यानरमा भइरहेको राजावादीहरुको गतिविधिहरुलाई हल्का रुपमा लिन नहुने बताएको छ ।
राजावादी शक्तिहरुद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसलाई नियन्त्रण नगरी हल्का रुपमा लिँदा विगतमाजस्तो जनविरोधी घटनाहरु दोहोरिन सक्नेतर्फ गणतन्त्रवादीहरुलाई सचेत समेत गराएको छ ।
बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले राजावादी शक्तिहरुको जारी गतिविधिले २०१७ पुस १, २०५९ माघ १९ र २०६२÷०६३ जस्ता घटनाहरु दोहोरिन सक्ने दृष्टिकोण अगाडि सारेको छ ।
राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि त्यही प्रकारका गतिविधिहरु सञ्चालन गरेको स्मरण गर्दै जनमोर्चाले आफ्नो वक्तव्यमा लेखेको छ, ‘राजावादीहरुद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
२०१७ सालको गतिविधिका कारण २०१७ साल पुस १ गतेको काण्ड भएको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नु परेको इतिहास सम्झदै जनमोर्चाले भनेको छ, ‘२०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएका थिए र त्यसबाट ०५९ माघ १९ गतेको काण्ड भएको थियो । त्यसको विरुद्धमा नेपाली जनताले २०६२/६३ को आन्दोलन गर्नुपरेको थियो । त्यस प्रकारको पृष्ठभूमिमा विभिन्न व्यानरमा राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुने छ । त्यसप्रकारका गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरुको ऐक्यबद्धता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । अन्यथा पुस १ गते र माघ १९ गतेका घटनाहरुको पुनरावृत्ति हुने र त्यसका विरुद्ध नेपाली जनताले पुनः लामो संघर्ष गर्नुपर्ने स्थितिको सृजना हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।’
वर्तमान सरकारका गलत, जनविरोधी भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट अहिले राजावादीहरुलाई आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको समेत जनमोर्चाको ठहर छ ।
‘निश्चयनै वर्तमान सरकारका सबै गलत, जनविरोधी र भ्रष्ट नीतिकाविरुद्ध जनताले दृढतापूर्वक र सम्झौताहिन प्रकारले संघर्ष गर्नु पर्दछ । तर, हामीले के बुझ्नु पर्दछ भने वर्तमान सरकार वा व्यवस्थालाई समाप्त गरेर राजतन्त्रको पुनः स्थापना भएमा पनि अहिले भएका सबै गलत नीति वा क्रियाकलापहरुको अन्त हुने छैन’m विज्ञप्तिमा लेखिएको छ ।
‘राजाको प्रत्यक्ष शासन भएको पञ्चायती निरंकुश कालमा बलात्कार र हत्या देशव्यापी भएका थिए । जसमा सुनिता, नमिता काण्डको उदाहरण उल्लेखनीय छ । त्यो बेला राष्ट्रिय सम्पत्तिको कति दुरुपयोग भएको थियो भन्ने कुरा राजतन्त्रको अन्त्यपछि राजतन्त्रको अकुत सम्पत्तिको विवरण बाहिर आएको कुराबाट प्रष्ट हुन्छ । राजतन्त्रमा मौलिक अधिकारको अवस्था के थियो भन्ने कुरा सबै जनताले भोगेकै हुन्’, वक्तव्यमा भनिएको छ, ‘राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रम छर्ने गरिएको छ । राजाद्वारा राष्ट्रियताको रक्षा कहाँसम्म हुँदोरहेछ भन्ने कुरा राजाको प्रत्यक्ष शासन भएको समयमा नै कालापानीमा भारतीय सेना बसेको थियो र त्यसलाई त्यहाँबाट हटाउने बारेमा सम्पूर्ण पञ्चायती कालभरि नै राजाद्वारा आवाजसम्म नउठाएकोबाट प्रष्ट हुन्छ ।’
यदि राजतन्त्रको पुनः स्थापना भयो भने पनि आफ्नो प्रतिक्रियावादी सत्ता टिकाउनका लागि भारतीय शासक वर्गसँग नेपालको राष्ट्रियताकोविरुद्ध सम्झौता गर्दै जाने कुरा निश्चित भएको जनमोर्चाको भनाइ छ । त्यसकारण राष्ट्रियताको रक्षाका लागि राजतन्त्रको पुनर्स्थापना नेपालका लागि अनिष्टकारी हुने जनमोर्चाको दाबी छ ।















प्रतिक्रिया