शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुई टुक्रा भयो विवेकशील नेपाली दल, उपाध्यक्ष राईसहितका १३ जनाले निकाले यस्तो विज्ञप्ति

गलत राजनीतिविरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन

दैनिक नेपाल २०७७ मंसिर १८ गते ११:०३

काठमाडौं, १८ मंसिर । विवेकशील नेपाली दल विभाजन भएको छ ।

दलका उपाध्यक्ष अजिता राईसहितका १३ जनाको समूहले पार्टीलाई जीवित राख्ने निर्णय गरेको छ । दलको कार्यसमिति ३५ सदस्यीय रहेको छ । योसँगै विवेकशील नेपाली दल दुई टुक्रा भएको हो ।

‘विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरेकाले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘अब विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई हामी शुभकामना व्यक्त गर्छौँ’, राई नेतृत्वको समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘तपसिलमा नाम उल्लेख भएका विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

‘अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर, त्यसको सकारात्मक नतिजा आएन’, विज्ञप्तिमा भनिएको छ ।

‘देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक छ ।’

‘पार्टी दर्ताको सम्बन्धमा हाम्रो विचारसँग सहमत विवेकशील नेपाली दलका साथीहरू तथा शुभेच्छुकहरूसँगको छलफलपछि छिट्टै अगाडि बढ्नेछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

‘विवेकशील नेपाली दल सुरुवात भएदेखि आजसम्म विभिन्न ढंगले साथ र सहयोग गर्नुहुने सबैमा हामी कृतज्ञ छौँ र आगामी दिनमा हामीले तय गर्ने बाटोमा पनि साथ र सहयोगको गर्नु हुनेछ भन्ने आशा गर्दछौँ’, उपाध्यक्ष राई नेतृत्वको समूहले भनेको छ ।

पार्टी एकीकरणप्रति असहमति राखेर विवेकशील नेपाली दल यथावत राख्नेहरूमा उपाध्यक्ष अजिता राई, सचिव (कार्यालय व्यवस्थापन) संगीता बाटाजु, संघीय समितिका सदस्यहरू कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा रहेका बेला विवेकशील नेपाली दल विभाज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित