शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एसईई बोर्डले लिने कि विद्यालयले ? एसईई र १२ को परीक्षा सर्ने

दैनिक नेपाल २०७७ मंसिर १८ गते ७:४४

काठमाडौं, १८ मंसिर । यस वर्षको एसईई परीक्षा लिने विषयमा अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडको कारण गएको एसईई परीक्षा विद्यालयले लिएको थियो तर शैक्षिक सत्र २०७७ को परीक्षा कसले सञ्चालन गर्ने निर्णय हुनसकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले अन्योल अन्त्य गर्न मन्त्रालयलाई पत्र पठाएको छ । गएको आइतबार बसेको बोर्डको बैठकले परीक्षा कसले सञ्चालन गर्ने भन्ने विषयमा तत्काल निर्णय गरिदिन मन्त्रालयलाई अनुरोध गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले गएको परीक्षा बाधा अड्काउ फुकाउका रुपमा रहेकाले यो वर्ष कसरी सञ्चालन गर्ने भन्ने विषयमा समस्या परेको बताउनुभयो । ‘बोर्डले लिने हो भने आवेदन खोल्ने बेला भइसकेको छ, परीक्षा व्यवस्थापन गर्न ढिलो भएकाले तत्काल निर्णय गर्न जरुरी छ।’ –पौडेलले भन्नुभयो ।

शिक्षा ऐनको आठौ संशोधनले कक्षा १०को परीक्षा क्षेत्रीयस्तरमा लिने उल्लेख छ । व्यवस्थापिका संसद्को शिक्षा उपसमितिले एसईई परीक्षा प्रदेश सरकारलाई दिन आग्रह गरिसकेको छ । तर अहिलेसम्म मन्त्रालयले निर्णय नगर्दा समस्या बढेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईई परीक्षा सञ्चालन गर्ने अधिकार कसलाई दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘यस विषयमा सबै सरोकारवाला निकायसंँग छलफल गरिरहेका छौं, केही दिनपछि निर्णय हुनेछ ।’ सरकारले हालसम्म सार्वजनिक गर्न नसकेको शिक्षा नीतिमा एसईई परीक्षा प्रदेश तहले लिने उल्लेख गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई र कक्षा ११ को परीक्षा कसले सञ्चालन गर्ने भन्ने विषयमा छलफल शुरु गर्नुभएको छ । मन्त्री पोखरेलले प्रदेशका सामाजिक विकास मन्त्रालय र अन्य सरोकारवाला निकायसंँग छलफल गरी छिट्टै निर्णय गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेकै अवस्थामा प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न नसक्ने तर्क राख्दै आएको छ । मन्त्रालयका अधिकांश अधिकारी यस वर्षको एसईई परीक्षा प्रदेश र ११ को विद्यालयले नै लिनुपर्ने पक्षमा रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का नियन्त्रक रामराज खकुरेलले पनि मन्त्रालयले समयमै निर्णय गर्र्नुपर्ने तर्क राख्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म परीक्षाको विषयमा निर्णय नगरेको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा सर्ने निश्चित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अहिलेसम्म कुनै तयारी नभएको कारण परीक्षा सर्ने निश्चित भएको स्पष्ट पार्नुभयो । हुनत विद्यालयमा ढिलो गरी कक्षा सञ्चालन भएको कारण परीक्षा सर्नु स्वाभाविक हो ।

पौडेलले भन्नुभयो– ‘अहिलेसम्म ढिलो भएको कारण परीक्षा सर्ने लगभग निश्चित भइसकेको छ ।’ बोर्डका अध्यक्ष प्राडा पौडेलले मन्त्रालयले तत्काल निर्णय गरे पनि एसईई र कक्षा १२ को परीक्षा करिब एक महिना ढिलो हुनसक्ने जानकारी दिनुभयो । बोर्डले मन्त्रालयलाई पठाएको पत्रमा परीक्षाको विषयमा चाँडै निर्णय गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्त दीपक शर्माले कोभिडको कारण पढाइ ढिलो सञ्चालन भएकाले परीक्षा ढिलो हुनसक्ने सम्भावना रहेको बताउँदै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको जानकारी दिनुभयो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित