बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सुस्तामा बल्यो विजुली, गणतन्त्रका कारण उज्यालो सुस्ता अभियान सफलः अध्यक्ष तिमिल्सिना

दैनिक नेपाल २०७७ मंसिर १७ गते १८:१२

-मोहन पौडेल

परासी, १७ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्रका कारण उज्यालो सुस्ता अभियान साकार भएको बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँमा निर्माण भएको सौर्य मिनी ग्रिड परियोजनाको बुधबार उद्घाटन गर्दै उनले सुस्तामा बिजुली बल्नु गणतन्त्रकै देन भएको उल्लेख गरे ।

विद्युतको पहुँचबाट टाढा रहेको नेपाली भूमि सुस्तामा सौर्य उर्जामार्फत विजुली बल्न थालेको छ । १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिड परियोजना निर्माण गरी सुस्तावासीलाई विद्युतको पहुँचमा पुर्याईएको हो । अध्यक्ष तिमिल्सिनाले आजको दिन सुस्ताबासीका लागि ऐतिहासिक उज्यालो दिन भएको बताए ।

“वर्षाैँदेखि टुकीको भरमा जीवन विताउँदै आउनुभएका सुस्तावासीका लागि आज ऐतिहासिक दिन हो, तपाई हामीेले गरेको आन्दोलन र त्यागबाट प्राप्त भएको गणतन्त्रकै कारण आज यो सम्भव भयो, गणतन्त्र नआएको भए यो नहुन पनि सक्थ्यो”, उनले भने ।

तीनै तहका सरकारले सुस्तावासीको पीडा अन्त्य गर्दै यहाँको विकासमा लहर ल्याउने काम गरेको अध्यक्ष तिमिल्सिनाको भनाई थियो ।

राष्ट्रिय प्रसारण लाईन लैजान सम्भव नरहेको यस ठाउँमा सौर्य उर्जा मार्फत विद्युत पुर्याउन आफूले पनि योगदान गर्न पाएकोमा खुशी लागेको बताउँदै उनले भने, “अव यहाँ लामो समयदेखि बन्न नसकेको झोलुङ्गे पुलको निर्माणका लागि पनि मैले सम्बन्धित निकायलाई दबाब दिनेछु, त्यसपछि सुस्ता आउन लोभलाग्ने गरी विकास गर्नुपर्छ, यहाँ पर्यटक भित्रिन्छन् र यहाँको जीवनस्तर माथि उठ्नेछ”

अध्यक्ष तिमिल्सिनाले सुस्ता, कालापानी लगायतको सीमा विवाद तथ्य र प्रमाणको आधारमा नेपाल–भारतबीच वार्ता र सहमतिबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।

अर्काे प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले आन्तरिक विवादलाई छिटो समाधान गरी जनमतको सम्मान गर्दै सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक बनाउने अभियानमा जुट्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई आग्रह गरे ।

उक्त अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले सुस्तावासीको पीडा अन्त्य गर्न तीनै तहका सरकार लागिपरेको बताए ।

उनले भने, “सुस्तावासीसहित नागरिकताबाट वञ्चित रहेका वास्तविका नेपालीलाई नागरिकता वितरण गर्ने गरी नागरिकता विद्ययेक अगाडि बढीसकेको छु, राज्यव्यवस्था समितिले संसदमा पठाईसकेकोले अव विद्ययेक अगाडि बढ्छ, भूमि समस्या समाधानका लागि भूमि आयोग गठन भएकोले जग्गाको व्यवस्थापन पनि हुनेछ, सुस्तावासीको मुहारमा खुशी ल्याउन सरकार प्रतिवद्ध छ”

नेता पण्डितले मुलुकमा विकासले गति लिईरहेको भन्दै सीमा क्षेत्रमा धेरै विकास हुनुपर्नेमा पनि जोड दिए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले झुपडीमा बस्न बाध्य सुस्तावासीलाई जनता आवास कार्यक्रममार्फत प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरिरहेको जानकारी दिए । उनले पुल बनिसकेपछि यहाँ आउने पर्यटकलाई लक्षित गरी होमस्टे(घरबास) प्रवद्र्धन गर्ने कार्यक्रम पनि सञ्चालन गरिने बताए ।

लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारु, लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही लगायतले उज्यालो सुस्ताका लागि सुस्तावासीलाई बधाई ज्ञापन गर्दै सुस्ताका थप समस्या समाधानका लागि पहल गर्ने बताए ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले विकट र पछाडी परेको सुस्तामा आफूहरु निर्वाचित भएर आएपछि विकासको लहर ल्याएको उल्लेख गरे ।

सौर्य उर्जा निर्माण सम्पन्न भएसँगै सुस्तामा अहिले सडक, सुरक्षित आवास, झोलुङ्गे पुल, तटबन्ध, खानेपानी लगायत पूर्वाधार निर्माण धमाधम चलिरहेको र केही वर्षमै सुस्ताको मुहार परिवर्तन हुने उनले बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड ८८ लाख ५५ हजार अनुदान, तराई मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु सत्र लाख ३६ हजार ९०७ गरी कूल चार करोड ८० लाख ९२ हजार २६८ रुपैँयाको लागतमा मिनी ग्रिड निर्माण सम्पन्न गरी विजुली बाल्न सफल भएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिए ।

“राष्ट्रिय प्रसारण लाईनको पहुँच नपुगेका ठाउँमा दुई वर्ष भित्र विद्युत सेवा पु¥याई उज्यालो नेपाल बनाउने अभियान अन्र्तगत सुस्तामा मिनी ग्रिड निर्माण गरिएको हो”, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित