१ कार्तिक २०८३, आइतबार

घरमै बसेर सरुवा माग्ने परिपाटी शुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । निजामती कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवदेन दिन सक्ने प्रणाली शुरु गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै सरुवाको निवेदन दिने व्यवस्था शुरु गरेको हो । यो प्रणाली शुरु भएपछि अब सरुवाका लागि निजामती कर्मचारी सिंहदबार धाउन नपर्ने भएको छ । संघअन्तर्गतका कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवेदन दिन सक्ने भएका छन् ।

निजामती कर्मचारीको व्यवस्थापनका लागि सरुवा, काज र कामलाई सूचना प्रविधिमैत्री बनाउन सो प्रणाली शुरु गरिएको मन्त्रालयले प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

कर्मचारी व्यवस्थापन छिटो–छरितो, विश्वसनीय र त्रुटिरहित बनाउन यो प्रणाली शुरु गरिएको प्रवक्ता अधिकारीले दाबी गर्नुभयो ।

मन्त्रालयको वेबसाइटमा लगइन गरी सफ्टवेयरले माग गरेको विवरण भर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सो सफ्टवयेरले निजामती किताबखानामा रहेको वैयक्तिक विवरणका आधारमा काम गर्ने जनाउँदै मन्त्रालयले वैयक्तिक विवरण अद्यावधिक गरेर मात्र निवेदन पेस गर्न आग्रह गरेको छ ।

यसबाट सरुवामा हुने अनावश्यक चलखेलमा धेरै नियन्त्रण हुने मन्त्रालयले दाबी गरेको छ ।

त्यसका लागि मन्त्रालयले वेबसाइटमा राख्ने अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर कम्तीमा पाँचवटा रोजाइका ठाउँसहित आवेदन दिनुपर्ने भएको छ ।

प्राप्त निवेदनमध्ये अवधि तथा ज्येष्ठताका आधारमा प्राथमिकताअनुसार कर्मचारी सरुवा हुने मन्त्रालयले जनाएको छ ।

कर्मचारीको सहजतासँगै काममा पनि बाधा नपरोस् र मन्त्रालयमा पनि भिडभाड नहोस् भन्नका लागि अनलाइनबाटै सरुवा निवेदन प्रणाली शुरु गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।