बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दैनिक नेपाल २०७७ मंसिर १६ गते २३:३१

दमौली, १६ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।

उहाँले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गरेका हुन् उक्त पुलले व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ लाई जोड्छ । विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताए । “गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उनले भने, “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पुर्याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।”

गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो । “अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”,उनले भने । विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।

संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङलगायतले पक्की पुल निर्माणसँगै यहाँका बासिन्दालाई कृषि उपज सामग्री बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुल निर्माणले यस भेगको समृद्धिको ढोका खुलेको बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माण पश्चात दुवै पालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताए । रासस

प्रतिक्रिया
सम्बन्धित