शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असर अध्ययन गर्न उपसमिति गठन गरिने

दैनिक नेपाल २०७७ मंसिर १६ गते २२:३१

काठमाडौं, १६ मंसिर । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड–१९ को असर अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड–१९ ले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको बताइन् ।

कोभिड सङ्क्रमणको जोखिमका कारण समितिका नियमित बैठकहरू प्रभावित भएको र अबदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलको भनाइ छ ।

पछाडि परेको क्षेत्र, समुदाय, मानव अधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रिय सुरक्षा, विभिन्न सन्धि तथा सम्झौतालगायत विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले जानकारी दिइन् ।

यस्तै लैङ्गिक हिंसाविरुद्धको विषयमा ३ वटै तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित