काठमाडौं, १६ मंसिर । सरकारले काठमाडौं उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थाले पनि न्यून सहभागिता देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।
ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौंका विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडामा दुईवटा बुथ राखेर परीक्षण गरिएको हो । एउटा वडाबाट कम्तीमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको छ । तीमध्ये ४३ जनामा पोजिटिभ देखिएको छ । ‘सित्तैमा परीक्षण गर्ने हो भन्दा पनि आएनन्,’ फिल्डमा खटिएका एक प्राविधिकले भने ।
काठमाडौं महानगरपालिकाको वडा ४ मा ५ सय जनाको परीक्षण गर्ने भनिएकामा २ सय २० जनाको एन्टिजेन परीक्षण भएको छ । ७ नम्बर वडामा २ सय ४४ र ९ नम्बर वडामा २ सय ५६ जनाको मात्रै परीक्षण भएको छ । ‘हामीले उपभोक्ता समितिहरू, क्लबहरू र संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई पनि फोन गरेर परीक्षण गर्न बोलाएका थियौं,’ काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष मोहन विष्टले भने, ‘कोरोना भनेको केही होइन, पोजिटिभ देखियो भने १४ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने डरले परीक्षण गर्न आएनन् ।’
अझै पनि परीक्षण गर्न अप्ठ्यारो मानेको पाइएको उनले बताए । ‘हामीले तरकारी व्यवसायी तथा बस र ट्याक्सी चालकलाई पनि परीक्षण गर्न अनुरोध गरेका थियौं, आउनुभएन,’ उनले भने । जति परीक्षण भयो, ती सबै भीडभाडमा खटिनेको परीक्षण भएको उनले बताए । पछिल्लो समय सर्वसाधारणमा लक्षण देखिए पनि परीक्षण गराउनै छाडेका छन् । त्यत्तिकै निको हुने भन्दै परीक्षण गराउन छाडेका हुन् । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया