शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्वास्थ्यमन्त्री ढकालद्वारा भरतपुर अस्पतालमा दुई वटा भवन शिलान्याश

अब देशका कुनै पनि पालिका अस्पतालविहीन बन्दैन

दैनिक नेपाल २०७७ मंसिर १५ गते १८:५१

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गरेका छन् ।

सोमबार उक्त भवन शिलान्याशको क्रममा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने पनि बताएका छन् । आज (म्रसिर १५ गते) एकैसाथ देशभर ३९६ वटा स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने दाबी पनि मन्त्री ढकालले गरेका छन् ।

‘हामीले भनेर होइन काम गरेर देखाउँछौं’, मन्त्री ढकालले भने, ‘यस्तो विषम् परिस्थितिमा पनि अस्पतालहरु धमाधम शिलान्यास गरेर काम अघि बढाएका छौं ।’ उनले आफ्नो पालामा मात्रै २०० वटा भन्दा बढी पालिकामा अस्पताल निर्माणका लागि स्वीकृती दिएको बताए ।

कतिपय पालिकामा जग्गाको समस्याका कारण अस्पताल निर्माण हुन नसकेको भन्दै उनले त्यसका लागि पनि सरकारले आवश्यक व्यवस्था गरेको बताए ।

देशभरका अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले जानकारी दिए । गरिब र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले काम गरिरहेको मन्त्री ढकालले बताए । आजका शिलान्यासहरु शिलान्यासमा मात्र सीमित नभई कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ ।

‘कोरोनापछि झन् हामीले पाठ सिक्ने अवसर मिल्यो’, उनले भने, ‘संघमा ३०० शै्याको र प्रदेशमा ५० शै्यायाको ल्याबसहितको सरुवा रोगको उपचार गर्ने अस्पताल निर्माणमा जुटेका छौं ।’ मन्त्री ढकालले जनताले छर्लङ्ग देख्नेगरी सरकारले काम गरिरहेको बताए । कोरोना विरुद्धको महामारीमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित सरकार निरन्तर लडिरहेको उनको भनाइ छ ।

सरकारले ६ प्रतिशत नागरिकको कोरोना परीक्षण गरिसकेको जानकारी दिँदै मन्त्री ढकालले भने, ‘कोभिड नेपाल भित्रने समयमा विदेशमा लगेर परीक्षण गर्नुपर्ने अवस्था थियो । अहिले देशभर ७६ वटा ल्याब स्थापना भइसकेका छन ।’ साझा मोर्चाबाट मात्रै कोरोना परास्त गर्न सकिने भन्दै उनले नेपालले आफ्नो स्रोतसाधन अनुसार गर्व गर्न लायक सेवा पुर्याएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित