२ कार्तिक २०८३, सोमबार

विकास पहुँचका आधार होइन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 स्याङ्जा, १५ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विकास पहुँचका आधारमा नभई आवश्यकताका आधारमा हुने बताएकी छिन् ।

सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भीरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले पहुँचको आधारमा निवेदन चढाएको भरमा विकास नहुने बताउँदै आवश्यकताका आधारमा हुने स्पष्ट पारेकी हुन् ।

वतर्मान सरकार नमूना सरकारको रूपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन् । विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय ३ वटै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाइ छ । ‘सरकार तीव्र विकासको गतिमा हिँडेको छ । यो हामीले मात्र भनेका हौइनौं यो त अन्तर्राष्ट्रिय मूल्याङ्कनले नै भनेको छ’, मन्त्री अर्यालले भनिन् ।

आज (मंसिर १५ गते) स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन् । उनले भनिन्, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठूलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ति हो । स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’ भौतिक संरचनासँगै दक्ष जनशक्ति र आधुनिक सुविधासम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उनले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताइन् ।

जनप्रनिधि जनताको सेवक भएको बताउँदै उनले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताइन् । सबै जनप्रतिनिधिलाई जनताले पद दिएको भन्दै उनले यो जनताले दिएको जिम्मेवारी भएको बताइन् ।

‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठूला मान्छे होइनौं, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भनिन्, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौं । उहाँहरूको सेवा गर्न उहाँहरू ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’