बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘ओली–दाहाल मिल्न सकेनन् भने विदेशी हस्तक्षेप बढ्छ’

दैनिक नेपाल २०७७ मंसिर १५ गते ९:५६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद प्रदीप गिरीले नेकपाभित्रको विवाद समाधान भएन भने मुलुकमा विदेशीहरूको चलखेल बढेर जाने बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेता गिरीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुनै पर्ने बताए । गिरीले ओली र दाहाललाई मिल्नका लागि नेकपाका नेता कार्यकर्ताहरूले दवाव दिनुपर्ने सुझाव दिएका छन् ।

निर्वाचनका बेला राजनीतिक स्थायित्वको माग गरेर झण्डै दुईतिहाइको बहुमत पाएको स्मरण गरेका कांग्रेस नेता गिरीले भने, ‘नेकपा फुट्नु हुँदैन । ओली र दाहाल मिल्नुपर्छ । उहाँहरू मिल्नुभएन भने मुलुकमा विदेशी हस्तक्षेप बढ्छ । विदेशीच चलखेल हुन्छ ।’

ओली र दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेको बताएका गिरीले पदका लागि झगडा नगर्न सुझाव दिएका छन् ।

सचिवालयको बैठकमा पेश भएको दुबै अध्यक्षको प्रतिवेदनमा आ–आफ्नो अडान यथावत रह्यो भने स्थिति असामान्य हुन सक्ने आफूले संकेत पाएको नेता गिरीले उल्लेख गरेका छन् ।

नेता गिरीले विगतमा कांग्रेसभित्र विवाद हुँदा गणेशमान सिंह, कृष्णप्रसाद सिटौला, गिरिजाप्रसाद कोइरालालाई पार्टीमा मिल्न नेविसंघले दवाव दिएका बताएका छन् । उनले नेकपाका कार्यकर्ताहरूलाई पनि दवाव सिर्जना गर्न सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित