शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

परियोजनामा चीनको चासो

दैनिक नेपाल २०७७ मंसिर १५ गते ७:१७

काठमाडौं, १५ मंसिर । एक दिने ‘वर्किङ भिजिट’मा आइतबार नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले जंगीअड्डामा झन्डै तीन घण्टा बिताए। त्यसपछि फेङहे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए। त्यहाँबाट शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे। फेङहेले आफ्ना राष्ट्रपति सी जिनपिङले पठाएको अभिवादन र शुभेच्छासहितको सन्देश सुनाए। उनले दुई मुलुकबीच सम्झौता भएर पनि कोरोना भाइरसका कारण रोकिएका विकासका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

नेपाल–चीनबीच विगतमा भएका सम्झौता विभिन्न कारण कार्यान्वयन हुनबाट रोकिएका छन्। फेङहेले ती कामलाई शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएको स्रोत बताउँछ। चिनियाँ बीआरआई परियोजनामा सूचीकृत भएका नेपालका योजना प्रभावकारी रूपमा कार्यान्वयन नभइरहेको अवस्थामा फेङहेले ती योजनाप्रति लक्ष्य गरी कार्यान्वयनका लागि राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन्।

राष्‍ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकामा चीनको सराहना गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो’, विज्ञप्तिमा लेखिएको छ। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङहेबीच नेपाली सेनालाई गर्ने सहयोग र कोरोना रोकथामका विषयमा छलफल भएको थियो।

फेङहेले जंगीअड्डामा अभिरुचिपूर्वक नेपाली सेनाले गरेको प्रस्तुतीकरण सुनेका थिए। नेपाली सेनाको सम्मानगारत ग्रहणपछि उनी जंगीअड्डाले आयोजना गरेको औपचारिक कार्यक्रममा सरिक भएका थिए। उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रोकिएका सैन्य अभ्यास र अन्य तालिमलाई यथाशीघ्र निरन्तरता दिने आश्वासन दिएका छन्। जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उनले कोरोना भाइरस संक्रमणका कारण रोकिएको सैन्य अभ्यास यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता जनाएका हुन्। शम्भु कट्टेलले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित