मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चन्द्रप्रसाद ढकालको जीवन संघर्षको कथा

दैनिक नेपाल २०७७ मंसिर १५ गते ७:१०

काठमाडौं, १४ मंसिर । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुपर्‍यो । बाग्लुङको बलेवा अमलाचौरमा सामान्य किसान परिवारमा जन्मिएका उनले अहिलेको यो सफलताका लागि पनि निकै आरोह अवरोह पार गर्नुपरेको थियो ।

उनको बाल्यकाल निकै पीडादायी र दुःखद थियो । बाल्यकालमै बाबुको मृत्यु भएपछि आमा र भाइबहिनीलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता उनमा थपिएको थियो । १६ वर्षमै आफ्नो खुसीमाथि पारिवारिक ग्रहण लागेपछि उनले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिबद्वताकै बलमा जिन्दगीमा पूर्णमास ल्याए ।

सोही बेलादेखि निरन्तर सफलताको शिखरतर्फ अघि बढेका उनले आफूलाई नेपालको सफल व्यवसायीको सूचीमा पार्न निकै मेहनत गरेका थिए । जीवनमा सोचेजस्तो केही नहुँदो रहेछ भन्ने बुझेका ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएपछि भने, ‘योजनाबद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भने चाहिँ नसोचिएको सफलता पनि हात लाग्दो रहेछ ।’

महासंघको वरिष्ठ उपाध्यक्ष जित्नका लागि मिलेको यो सफलतासँगै अहिले आईएमई ग्रुपको अध्यक्षको जिम्मेवारीसहित काठमाडौं पानीपोखरीस्थित आफ्नो कार्यालयमा व्यस्त दैनिकी गुजारिरहेका ढकालले जीवनमा योजनाबद्ध सोच र आँटका साथ निरन्तर मेहनत गरिरहे । अहिले मुलुककै प्रतिष्ठित व्यावसायिक घरानाका रूपमा परिचित ढकालको केही साइनो अधिकांश नेपालीका घरपरिवारसँग पनि जोडिएको छ । त्यो साइनो हो आईएमई रेमिट्यान्स । हाल उनको यस रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।

आईएमई ग्रुपका संस्थापक अध्यक्ष ढकाल नेउवा महासंघमा सदस्य, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । आइतबारदेखि नेतृत्व सम्हालेका शेखर गोल्छापछि आगामी २०औं अध्यक्ष ढकाल नै हुनेछन् ।

निरन्तर सफलताको शिखर चुमिरहेका ढकाल बैंकिङ, अटोमोबाइल्स र होटल एवं पर्यटन व्यवसाय, चन्द्रागिरी हिल्स लिमिटेडलगायत विभिन्न कम्पनी चलाउँदै देशको उद्योग वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि लबिङ पनि गर्दै आएका सफल व्यवसायी हुन् ।

निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्, चन्द्रप्रसाद ढकाल । उनको बाल्यकाल आम गाउँले बालबालिकाको जस्तै रह्यो । दैनिकजसो धुलोहिलो, दाउरा–घाँस, मेलापात जीविकोपार्जनको माध्यम थियो । त्यस्तो परिस्थितिमा घरपरिवारको मूल खाँबो टुटेपछि १६ वर्षका जेठो छोराले काँध थाप्नुपर्ने भयो ।

त्यो बेला उनी कर्तव्य पूरा गर्ने अठोटबाहेक अरू केही गर्न सक्दैनथे । उनी त्यो विकल्परहित दायित्व पूरा गर्ने कोसिसमा लागे । बुबाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए । तर विचलित भएनन् । निरन्तर परिश्रम गरिरहे । त्यसबेला एक मात्र ध्याउन्न थियो, आमा र भाइबहिनीलाई अभावबाट टाढा राख्नू । उनको त्यो मेहनत अहिले राष्ट्रिय समृद्धिका अनेक प्रयासमा जोडिन आइपुगेको छ ।

‘म यहाँ आइपुग्न हिँडेको थिइनँ । त्यतिबेला मेरा भाइबहिनीलाई कसरी पढाउने, समस्याबाट कसरी जोगाउने भन्नेमा केन्द्रित थिएँ,’ विगतका दिन सम्झँदै ढकालले भने, ‘मेरो जम्माजम्मी एउटै उद्देश्य थियो, आमा र भाइबहिनीलाई कसरी खुसीले पाल्ने ? त्यसैका लागि म काठमाडौंतिर हान्निएको थिएँ ।’

त्यसबेला काठमाडौंमा कमाइका लागि कामसँगै पढाइलाई अघि बढाउन खोज्दा निकै कठिनाइ हुन्थ्यो । काठमाडांै आएपछि ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा पहिलो जागिर खाए । सो समय घरमा खर्च पठाउँदै पढाइलाई पनि जसोतसो अघि बढाए । हातमा एसएलसी पास भएको मार्कसिट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले ।

वाणिज्य बैंकमा करिब चार वर्ष काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरे । २०४८ सालतिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा त्यतिबेला करिब १२-१३ लाख रुपैयाँ आवश्यक परेपछि उनले आफू कार्यरत बैंकमै ऋणका लागि आवेदन दिए ।

बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले उनलाई ऋण नदिने भए । जागिर खाइरहेका व्यक्तिलाई यस्तो ऋण दिन नसक्ने भन्दै ती हाकिमले ऋण दिन नमानेपछि उनले आफ्नो हाकिमकै अगाडि राजीनामा लेखेर सोही बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरे । ढकाल अहिले ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् । हाल त्यो क्षण सम्झँदा ढकाललाई आफूले सही निर्णय गरेको भन्ने लाग्छ । त्यो बेलाको निर्णय आफ्ना लागि निकै जोखिमयुक्त थियो भन्दै उनले अहिलेको यो सफलतामा त्यो निर्णय एकदमै राम्रो गरेको बताए ।

त्यतिबेला कार्गो व्यवसायमा उनले भाइ रामु ढकाललाई साथ लिएका थिए । त्यसपछि ढकाल विदेशमा श्रम बेच्न पनि गए । ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाको रेमिट्यान्स भिœयाउने एउटा प्रमुख कम्पनी आईएमई रेमिट्यान्सका सञ्चालक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा थिए ।

उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एक जना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए ।

उनले १० महिना जापानको एउटा छापाखानामा काम गरे । त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा उनले केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । अब रामु जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किए । त्यतिबेला नेपालीले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुन्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो र आईएमई रेमिट्यान्स कम्पनी खोले ।

सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुन्डीकै कारण कामदार ठगिने घटना बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो । ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही वर्ष । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित