शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओसासुनामाथि वार्सिलोनाको ४–० को फराकिलो जित

दैनिक नेपाल २०७७ मंसिर १४ गते २१:३०

काठमाडौं, १४ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ ।

आइतबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो ।

वार्सिलोनाको उक्त जितमा लियोनल मेसीको उत्कृष्ट प्रदर्शन हाबी भयो । बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा डाइनामो किभविरूद्ध खेलेको टीममा चार खेलाडी परिवर्तन गरेका थिए ।

लियोनल मेसी, फ्रांक डी जोङ, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनलाई सुरूवाती टीममा राखेका थिए ।

बार्सिलोनाले खेल अगाडि पूर्वखेलाडी डिएगो म्याराडोनाको सम्झना गरेको थियो । घरेलु टीम बार्सिलोनाले २९औं मिनेटमा मार्टिन ब्रेथह्वाइटको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

५७औं मिनेटमा फिलिपे कौटिन्होले अर्को गोल थपे । खेल सकिन १७ मिनेट बाँकी हुँदा लियोनल मेसीले चौथो गोल थपे । मेसीले उक्त गोल म्याराडोनामा समपर्पित गरे । उनले गोल गरेपछि जर्सी फुकालेर म्याराडोनाको जर्सी प्रदर्शन गरेका थिए ।

जितसँगै बार्सिलोना ला लिगाको सातौं स्थानमा उक्लिएको छ । बार्सिलोनाले ९ खेलबाट १४ अंक जोडेको छ । जुन शीर्ष स्थानका रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो । रियाल सोसिडाडले एक खेल बढी खेलेको छ । ओसासुना भने ११ अंकका साथ १५औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित