शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आर्थिक विकासका लागि ड्राइपोर्ट निर्माण आवश्यक : चेम्बर केन्द्रीय अध्यक्ष श्रेष्ठ

दैनिक नेपाल २०७७ मंसिर १४ गते २१:१०

कपिलवस्तु, १४ मंसिर । विकासको सम्भावना बोकेको कपिलवस्तुको कृष्णनगरमा ड्राइपोर्ट (सुख्खा बन्दरगाह) को लागि विशेष पहल गर्ने नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले जोड दिएका छन् ।

भारतको बढनी रेल वे स्टेशनसँग प्रत्यक्ष सम्बन्ध जोडिएको कपिलवस्तुको कृष्णनगर नाका व्यापारिक सम्भावना बोकेकाले यहाँ सुख्खा बन्दरगाह निर्माण गर्न आवश्यक देखिएको चेम्बर केन्द्रीय अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । चेम्बर अफ कमर्श कपिलवस्तुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ड्राइपोर्ट समितिका सदस्य समेत रहेका श्रेष्ठले आगामी बैठकमा प्रस्तावको रुपमा लैजाने र यथासिघ्र निर्णय गराउने आश्वासन दिए ।

सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणले जिल्लाको समग्र आर्थिक एवं पर्यटन विकासमा समेत ठूलो टेवा पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे । यहाँका व्यापारी व्यवसायीको मागलाई ध्यानमा राख्दै ड्राइपोर्ट निर्माणका लागि आफूले केन्द्रीय तहसम्म आवाज उठाउने आश्वासन दिए ।

चेम्बर अफ कमर्श कपिलवस्तुका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै चेम्बर केन्द्रीय अध्यक्ष श्रेष्ठले जिल्लाको समग्र विकासमा सबैसँग सहकार्य गरी अगाडि बढ्न सुझाव दिए । साथै उनले महिला र युवा व्यवसायीहरुलाई अग्रसर गराउन जिल्ला स्तरमा महिला चेम्बर अफ कमर्श र युथ चेम्बर अफ कमर्श गठन गर्न आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले ब्यवसायीका हकहितका साथै समग्र सामाजिक क्षेत्रमा चेम्बर अफ कपिलवस्तुले उल्लेखनीय कार्य गरेको उल्लेख गरे । नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै प्रदेशसभा सदस्य के.सी.ले लुम्बिनी प्रदेशबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले स्थानीय सरकार चेम्बर अफ कमर्श दुवै एक सिक्काका दुई पाटा भएकाले सबैसँग सहकार्य गरी आर्थिक समृद्धिमा टेवा पु¥याउन अनुरोध गरे ।

नगरप्रमुख अधिकारीले नव निर्वाचित अध्यक्ष महादेव पोखरेल नेतृत्वको चेम्बर अफ कमर्शले हालसम्म दुईवटा ठूला महोत्सव सम्पन्न गर्न सफल भएको, चेम्बरकै एकतले भवन निर्माण कार्य सम्पन्न भएको, कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको स्मरण गराए । नेपाल चेम्बर अफ कमर्श केन्द्रीय सदस्य टंक प्रसाद पोख्रेलले नव निर्वाचित चेम्बर पदाधिकारीलाई बधाई दिंदै समग्र आर्थिक विकासको क्षेत्रमा चेम्बरले अगुवाई गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला सभापति बिष्णुप्रसाद खतिवडा, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रीय सदस्य टोपलाल पोखरेल लगायतले चेम्बरको सामाजिक योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा जग्गादाता टोपलाल पोखरेललाई सो अवसरमा सम्मान गरिएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित