शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

दैनिक नेपाल २०७७ मंसिर १४ गते २१:००

काठमाडौं, १४ मंसिर । नेपाली आधुनिक पत्रकारिताका संस्थापक मानिने पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ ।

उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब १०० वटा देश घुमिसकेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गरेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेटेका छन् । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुग्नु भएका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उनको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री बनेको छ । उनको पुस्तकमा नेपाली राजनीतिलाई चिरफार गरिएको छ । विदेशका अभ्यासहरु पनि पुस्तकमा रोचक ढंगले समेटिएका छन् ।

‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले एक रोचक सन्दर्भमा उल्लेख गरेका छन् ।

किताबमा कूटनीतिक सन्दर्भहरु पनि बारम्बार आउँछन् । सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि लेखक श्रेष्ठले दिएका छन् । ‘तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ’ एक सन्दर्भमा लेखक श्रेष्ठ उल्लेख गरेका छन् ।

‘दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यौं, न त स्विजरल्यान्ड जस्तो’ अर्को सन्दर्भमा उनले तिखो टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित