शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न बाहिनीपतिहरुलाई निर्देशन

दैनिक नेपाल २०७७ मंसिर १४ गते २०:३२

काठमाडौं, १४ मंसिर । गृहसचिव महेश्वर न्यौपानेले हालै बाहिनीपतिको रुपमा सरुवा भएका बाहिनीपतिहरुलाई पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा उनले सो निर्देशन दिएका हुन् । गृहसचिव न्यौपानेले त्यसअवसरमा बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफू मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तीमा पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

विपद् व्यवस्थापन कार्यमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै सशस्त्र प्रहरी बलले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उनले बताए ।

गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपतिको रुपमा खटिएकाहरुले आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्दै मातहत ईकाइबाट भए गरेका कामकारवाहीको सही रुपमा मूल्यांकन गनुपर्ने चर्चा गर्दै कार्यक्षेत्रमा सक्रिय भएर आ–आफ्नो मातहतका कार्यालय तथा कर्मचारीहरुको नियमित अनुगमन गरी इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा खरो उत्रन निर्देशन दिए ।

उनले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आईपर्ने विविध सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गर्दै कार्यसम्पादनमा जुट्न निर्देशन दिदै जिम्मेवारीका क्षेत्रहरुमा कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरु कुशल ढंगले कार्यसम्पादनमा क्रियाशील रहने विश्वास व्यक्त गरे ।

गृहसचिव न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशील भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिएका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तीका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशिल रहिरहेको चर्चा गर्दै संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकहरुको उद्वार लगायतका जिम्मेवारीहरुमा परिमाणमुखी कार्यसम्पादनमा सकृयताकासाथ कृयाशिल रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित