शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चिनियाँ रक्षामन्त्री वेई फेङ्गहेलाई जंगी अड्डामा सम्मान गारत

फेङ्गहे र प्रधानसेनापति थापाबीच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल

दैनिक नेपाल २०७७ मंसिर १४ गते २०:१३

काठमाडौं, १४ मंसिर । नेपाल भ्रमणमा आएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्गहेलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको छ ।

आइतबार जंगी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका फेङ्गहेलाई उनको सम्मानमा नेपाली सेनाले गारत अर्पण गरेको बताएको छ । साथै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासँग प्रधानसेनापति कार्यालयमा भेटवार्ता पनि गरेका छन् । भेटमा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको सेनाले बताएको छ ।

भेटवार्तापछि फेङ्गहेसहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा संक्षिप्त श्रव्य-दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । त्यसपछि चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो ।

छलफलमा मुख्यत: कोभिड-१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा फेङ्गहेले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिदै उच्चस्तरीय भ्रमण लगायत द्धिपक्षीय सहयोगका कार्यहरु यथाशीघ्र सुचारु गर्ने आश्वासन दिएका छन् । त्यसै अवसरमा जनरल वेईले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित