शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गलकोटबाट काठमाडौं उडेको हेलिकोप्टरमा चील ठोक्किएपछि…

दैनिक नेपाल २०७७ मंसिर १४ गते १९:११

काठमाडौं, १४ मंसिर । बागलुङको गलकोट नगरपालिकाबाट आइतबार दिउँसो काठमाडौंका लागि उडेको कैलाश एयरको हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो ।

नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकोप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकोप्टरमा सवार यात्रु अत्तालिए । अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकोप्टरलाई आकस्मिक अवतरण गराए ।

हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उनले जोगाए ।

‘शुरुमा चील देखिनासाथ चालकले छलिरहहेका थिए, तर पछि फेरि आएर जोडसित ठोक्कियो’, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने । हेलिकप्टरभित्रै छिरेको चील रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ । चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए ।

‘भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ’, उनले भने ।हेलिकोप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकोप्टर चार्टर गरेर काठमाडौं आउँदै थिए ।

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकोप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका थिए । चील ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ । अघिल्लो सिटमा बसेका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ ।

उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित