बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण : सीईओ ज्ञवाली

दैनिक नेपाल २०७७ मंसिर १३ गते २०:३५

काठमाडौं, १३ मंसिर । भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरूबारे छलफल गर्न तथा सुझावहरू लिन प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरूले प्राधिकरणले तयार पार्न लागेको कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिलेको बताएका छन् । पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेन्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताहरूबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो ।

प्राधिकरणले २०७७ वैशाखमा आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी ६ वटा विषयगत क्षेत्रमा कम्पेन्डियम तयार गरिरहेको छ ।

आज तीनवटा विषयहरू क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र गभर्नेन्स एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भए ।

आजको पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलहरूबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले एक कार्यपत्र प्रस्तुत गरे । भण्डारीले आफ्नो कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाहरूको सहयोगमा करिब ४ लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गरे ।

भण्डारीको पत्रमाथि विश्व बैंककी ज्यास्मिन राजभण्डारी र युएनडिपीका विजय सिंहले टिप्पणी गरेका थिए । यो सत्रको सहजीकरण कार्यकारी समिति सदस्य डा.चन्द्र बहादुर श्रेष्ठले गरेका थिए ।

त्यस्तै, दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्दार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलले एक प्रस्तुतीकरण दिए । पोख्रेलको कार्यपत्रमाथि युएनडीपीका रामराज नरसिम्हा र एनआरसीएसका विपुल न्यौपानेले टिप्पणी गरेका थिए ।

तस्रो सत्रमा पुनर्निर्माणका लागि भएको गभर्नेन्स एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भयो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नजिता दिनसक्ने देखिएको उल्लेख गरे ।

उनँको प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझावहरू दिए । त्यसक्रममा पूर्व मुख्यसचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गरे । यो सत्रको अध्यक्षता कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले गरेका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहेका प्राडा गोविन्द नेपाल, डा. विश्व पौडेल र डा. रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गरेका थिए ।

नेपाल, पौडेल र सुवालका प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्र विशाल थापाले टिप्पणी गरेका थिए ।

वेविनारको पहिलो दिन निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि ७ वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए । जसमा ११ जना टिप्पणीकर्ताले आफ्नो सुझाव प्रदान तथा पृष्ठपोषण गरेका थिए ।

वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, पुनर्निर्माण र पुनस्र्थापनाका अभ्यासकर्ताहरू तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित