बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नयाँ पुस्तालाई नेतृत्व दिन प्रधानमन्त्री ओलीको प्रस्ताव

दैनिक नेपाल २०७७ मंसिर १३ गते १९:०३

काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।

शनिबारको नेकपाको सचिवालय बैठकमा ओलीले ३८ पेजको प्रतिवेदन पेश गर्दै नयाँ पुस्तालाई नेतृत्व दिनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार हुने कि नहुने भन्दै आफ्नो जवाफ प्रस्तुत गरेका छन् ।

प्रचण्डले ल्याएको प्रस्तावको जवाफ दिन ओलीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’

प्रधानमन्त्री ओलीले अब आफू अध्यक्ष नबन्ने निर्वाचनबाट प्रधानमन्त्री समेत नबन्ने कुरा स्थायी समितिमार्फत जानकारी गराएको बताउँदै उनले अध्यक्ष प्रचण्डलाई नेतृत्वका लागि चलखेल नगर्न समेत आग्रह गरेका छन् ।

‘यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ? तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ?’, ओलीले उल्लेख गरेका छन्, ‘के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’

प्रधानमन्त्री ओलीले प्रचण्डले आफूमाथि लगाएको भ्रष्टचारको प्रोत्साहन गरेको लगायतको आरोपको खण्डन गरेका छन् ।

‘कहिलेकाँही आफै छक्क पर्छु, कम्युनिष्ट आन्दोलनमा यो कस्तो सङ्क्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरु हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ’, ओलीले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित