शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नबिल बैंक र दराजबीच सम्झौता, के–के सुविधा पाउँछन् दराजका विक्रेताले ?

दैनिक नेपाल २०७७ मंसिर १३ गते १३:५५

काठमाडौं, १३ मंसिर । नबिल बैंक र अनलाइन सपिङ प्लेटफर्म दराजले आपसमा सम्झौता गरी संयुक्त रूपमा ‘सारथी कार्यक्रम’ शुरू गरेका छन् ।

यससम्बन्धी सम्झौतामा नबिल बैंकका डेपुटी सीर्इओ सुजित कुमार शाक्य र दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप दराज अनलाइन प्लेटफर्ममार्फत व्यापार गर्ने साना तथा मझौला उद्यमहरूले अब नबिल बैंकबाट विभिन्न कर्जा सुविधा उपयोग गर्न पाउने भएका छन् ।

महामारीका कारण आइपरेको आर्थिक संकटले साना तथा मझौला उद्यम (एसएमई) मा गम्भीर प्रभाव पारेको छ । तसर्थ, सारथी कार्यक्रमद्वारा दराजमा सक्रिय विक्रेतालाई महामारीले पुर्याएको कठिनाइसँग लड्न सक्षम बनाउने आशा गरिएको कम्पनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सारथी कार्यक्रम साना तथा मझौला उद्यमको योग्यतामा आधारित हुने बताइएको छ । दराजमा विक्रेताको राम्रो कारोबारले उनीहरूलाई अझ न्यून ब्याजदर प्राप्त गर्ने अवसर दिने बताइएको छ । सारथी कार्यक्रम अन्तर्गत एसएमई विक्रेताहरूले आवश्यकता अनुसार विभिन्न कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

उनीहरूले १ करोडसम्मको एसएमई कर्जा लिन सक्ने छन् जुन दराज बिक्रेताका लागि आकर्षक ब्याजदरमा उपलब्ध गराइएको नबिल बैंकले बताएको छ ।

बैंक र दराजबाट जारी संयुक्त विज्ञप्तिअनुसार सारथी कार्यक्रम अन्तर्गत एसएमई विक्रेताले पूर्ण कागजात पेश गरेको ७२ घण्टामै कर्जाको निर्णय पाउने, न्यून ब्याजदर, ऋण प्रशासनिक शुल्कमा छूट (दराजमा विक्रेताको राम्रो कारोबार अनुसार) र विभिन्न एसएमई आवश्यकता पूरा गर्न बनाएको विशेष प्रकारका कर्जाहरूको सुविधा पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित