२ कार्तिक २०८३, सोमबार

डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्च दरको आर्थिक वृद्धिको माध्यम बन्नसक्छ : प्रधानमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्च दरको आर्थिक वृद्धिको माध्यम बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

‘फोन–पे डिजिटल इकोनोमी कन्क्लेभ’लाई शनिबार सम्बोधन गर्दै ओलीले अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकाशमा लागेको बताउँदै यस क्षेत्रमा लगानी समेत बढिरहेको बताए ।

‘नयाँ आविष्कार र नवप्रवर्तन भइरहेको छ’, ओलीले भने, ‘कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स र डिजिटल पेमेन्ट लगायतका पक्षहरु तपाईं हामीलाई जोड्ने माध्यम बनिरहेको छ ।’ समग्रमा डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्च दरको आर्थिक वृद्धिको माध्यम बन्न सक्ने सम्भावना देखेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कोरोना भाइरसको प्रभावका कारण नेपालमात्र नभइ संसारका अधिकांश देश समस्यामा परेको उल्लेख गर्दै उनले विश्व अर्थतन्त्र नै संकुचनमा गएको बताए । ‘केही देशहरु आर्थिक मन्दीको चपेटामा परिसकेका छन्’, ओलीले भने, ‘समग्र एशियाको आर्थिक वृद्धि नकारात्मक हुन सक्ने एशियाली विकास बैंकको अध्ययनले देखाएको छ । नेपालको अर्थतन्त्रमा पनि कोरोना महामारीको प्रभाव आँकलन गरिए भन्दा पनि बढी हुने संकेतहरु देखिइसकेका छन् ।’

कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न तथा त्यसका कारण नेपालको अर्थतन्त्रमा पुगेको क्षति न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न आफ्नो नेतृत्वको सरकारले सबै प्रयासहरु जारी राखेको पनि उनले बताएका छ । ‘मैले निजी क्षेत्रलाई भनिसकेको छु, सरकारको मन गरिब छैन, गच्छेअनुसारको सहयोग र समन्वय गर्न दृढ छ ।’

यो समय प्रतिकुल मात्रै छैन । यही महामारीबीच कतिपय क्षेत्रहरुले आशाको किरण पनि देखाएको बताउँदै उनले अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकाशमा लागेको बेला नेपालको जनसंख्याको ५० प्रतिशत हाराहारी नेपाली युवा जनशक्तिको नवप्रवर्तनप्रतिको बढ्दो लगावले नेपालमा डिजिटल क्षेत्रको विकास मार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिने अझ बढी सम्भावना आफूले देखेको बताए ।

यस्तै कोरोना महामारी नियन्त्रणका गर्न बाध्यत्मक रुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजिटल बैंकिङ, ई–लर्निङलगायत डिजिटल उपचार र व्यवसाय र क्रियाकलापहरु नेपालको शहरी क्षेत्रमा मात्र होइन धेरै स्थानमा आम जीवनको अंग बनेका ओलीको भनाइ छ । यिनै कुराहरुले नेपाललाई डिजिटल युगमा प्रवेश गर्न आधार दिएको उनले बताए ।

ब्रोडव्याण्ड मात्र नभई मोबाइलमार्फत पनि इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेकाले डिजिटल मैत्री वातावरणलाई सहज भइरहेको बताउँदै उनले आफ्नो नेतृत्वको सरकारले मन्त्रिपरिषद्को बैठकलाई कागजरहित बनाएको स्मरण पनि गरेका छन् ।